
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ : नेपाली कांग्रेसले निजामती क्षेत्रमा पार्टीगत ट्रेड युनियन राख्न उचित नहुने सुझाव दिएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलका क्रममा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ट्रेड युनियनलाई पार्टीगत रूपमा राख्न नहुने सुझाव दिएका हुन् ।
त्यस्तै घिमिरेले संवैधानिक आयोग पूर्व कर्मचारीको क्लब जस्तो देखिएकाले आयोगमा ५० प्रतिशतभन्दा बढी पूर्व कर्मचारी हुन नहुने प्रावधान राख्नुपर्ने सुझाव दिए ।
बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले निजामती क्षेत्रमा विभिन्न दलका फरक फरक ट्रेड युनियन भन्दा पनि एउटै ट्रेड युनियन राख्नुपर्ने बताए । एउटै ट्रेड युनियनमा पनि अधिकृत भन्दा माथिका कर्मचारीलाई राख्न नहुने विषयमा छलफल चलाउनुपर्ने उनले बताए ।
बैठकमा प्रमुख दलका मुख्य सचेतकहरूले विधेयकहरूलाई समयमा नै अघि बढाउन पार्टीगत रूपमा नै प्रतिबद्ध रहेको धारणा राखेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij