
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । आज दिउँसो हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् ।
उनीहरूले राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । आज सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नबिनसिंह धामीले जनाए ।
गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । आफुहरूले उठान गरेका माग मुद्दा उक्त सम्झौतामा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् । सरकार र महासंघले आफूहरूलाई धोका दिएको भन्दै आन्दोलनको मैदान नछोडेको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij