
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्वब थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्रीमा निर्वाचित भएपछि आफ्नो गृहनगर विर्तामोडमा शनिवार नेपाली कांग्रेस झापाद्वारा आयोजित स्वागत–सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेश सभामा विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको हो ।
मुख्यमन्त्री थापाले आफूले पहिला विश्वासको मत लिएपछि मात्रै सरकारका महत्वपूर्ण कारबाही गर्ने बताउनुभयो । महिना दिनभित्र विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी सुरु हुने र गठबन्धन सरकारले बाँकी चार वर्षको कार्यकालसमेत पुरा गर्ने थापाले बताउनुभयो ।
कार्यक्रममा कांग्रेस झापाका सभापति देउकुमार थेवे, सचिव कृष्ण हुमागाई, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल, गोमा भट्टराई, प्रदेश सभा सांसद गोपाल तामाङ र लख्खीदेवी गणेश, नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्य, पार्टीका जिल्ला पदाधिकारी, सदस्य, स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका विभिन्न तहगत समितिका पदाधिकारी–सदस्य एवं कार्यकर्ताको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij