
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
प्रचण्ड–नेपाल पक्षले शनिवार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलनको कार्यक्रमतालिका अनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । साथै प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति पनि गठन गरिनेछ ।
त्यसैगरी पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग प्रधानमन्त्री केपी ओलीको कदमको विषयमा अन्तक्रिया कार्यक्रम आयोजना गरिनेछ र २३ गते नागरिक समाजसँग अन्तरक्रिया गरिनेछ । त्यसपछि २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइनेछ ।
पुस २६ गते सडक संविधान बाचन–व्याख्या कार्यक्रम गरिनुका साथै पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँ तथा टोलसम्म कालोझण्डा गाड्ने लगायतका विरोध कार्यक्रमहरु गरिने तालिकामा उल्लेख छ ।
यसैगरी पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, माघ ५ गते पालिकाहरुमा विरोध प्रदर्शन र १० गते काठमाडौं उपत्यकालगायत देशभरका शहरी क्षेत्रमा मोटरसाइकल -याली निकालिने छ भने माघ १६ र १७ गते सबै प्रदेशमा विरोध सभा राखिएको छ । माघ २२ गते देशव्यापी मसालजुलुस गरिनेछ भने माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिनेछ ।
३० गते सबै वडाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखिएपनि पुष २९ को दिनको महिना हो । कार्यक्रमको तालिका बनाउँदा पात्रो ख्याल गरेको पाइयो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij