
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति १० बजेसम्म चलेको बैठकले मन्त्रालय बाँडफाँड टुङ्ग्याएको हो।
सहमति अनुसार गठबन्धनको सबैभन्दा ठुलो दल एमालेले ७ वटा मन्त्रालय पाउने भएको भने माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ । यस्तै राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो ।
एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय पाउने सहमति एको छ ।
राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय, रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको छ । त्यस्तै जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।
दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । त्यसअघि नै जसपा र नागरिक उन्मुक्ति पार्टी लाईसमेत सरकारमा सहभागी गराउन छलफल चलिरहेको छ । यदि यी दुई पार्टी सरकारमा आउने भए भागबन्डामा केही तलमाथि हुनेछ । यसअघि प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भएको भेटवार्तामा मन्त्रालयको भागवण्डा टुंगिसकेको छ ।
मंगलबार पाँच घण्टाभन्दा बढी चलेको सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।
गत पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री प्रचण्डले तीन सातापछि मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । मन्त्रिपरिषद् विस्तारअघि मंगलबार सर्वदलीय बैठक बोलाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij