
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण काठमाडौं उपत्यकाका यातायात कार्यालयहरू बन्द हुन थालेका छन् । निर्वाचनको समयमा ट्रायल सेन्टरमा ट्राफिक प्रहरी पठाउन नसक्ने पत्र पठाएपछि यातायात कार्यालयबाट हुने सेवासुविधाहरू बन्द हुन थालेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
एक सूचना जारी गर्दै यातायात कार्यालय भक्तपुरले कात्तिक १७ गतेदेखि नै रिट्रायल तथा अन्य सेवाहरू रोकिएको बताएको थियो । सूचनामा भनिएको छ, “आगामी मंसिर ४ गते हुने चुनावमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका कर्मचारीहरू खटाउनुपर्ने भएकाले यस कार्यालयबाट लिइने सवारी चालक अनुमतिपत्र लाइसेन्सको प्रयोगात्मक र लिखित परीक्षाका साथै रिट्रायलको राजस्व संकलन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।”
यस्तै, यातायात व्यवस्था विभागले काठमाडौंका अन्य कार्यालयहरूमा समेत सेवा बन्द हुन थालेको जनाएको छ । यातायात कार्यालयकै कर्मचारीहरू निर्वाचनमा खटिनुपर्ने भएकाले मंसिर १ गतेदेखि सेवा सुविधा बन्द रहने भन्दै विभागले सूचना जारी गरिसकेको छ । विभागले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द रहने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij