
Apr 22 2025 | २०८२, वैशाख ९ गते
श्रीलंकाले युएईमा जारी टि-२० एसिया कप सुपर फोरमा भारतमाथि जित हात पारेको छ । गएराति भएको खेलमा भारतमाथि ६ विकेटको रोमान्चक जित हात पार्दै श्रीलंका फाइनल नजिक पुगेको हो ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिस र पाथुम निसंकाले अर्धशतक पारी खेले । मेन्डिसले सर्वाधिक ५७ रन तथा निसंकाले ५२ रन जोडे । त्यस्तै, कप्तान दसुन शनकाले ३३ तथा भानुका राजपाक्षले २५ रन बनाए।
बलिङतर्फ भारतका स्पिनर युजभेन्द्र चहलले ३ विकेट लिए भने रविचन्द्रन आश्विनले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन जोडे । सुर्यकुमार यादवले ३४ रन तथा हार्दिक पाण्ड्या र ऋषभ पन्तले १७/१७ रन बनाए ।
बलिङतर्फ दिलशान मदुशनकाले ३ विकेट लिए । त्यस्तै, चामिका करुणारत्ने र दासुन शनकाले समान २/२ तथा महेश थिक्सनाले १ विकेट लिए । लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij