
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । रुघाखोकी र ज्वरो बढेपछि इलाममा विद्यालय बन्द गर्न थालिएको छ । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् ।
पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । एक साताका लागि विद्यालय बन्द गरिएको हो । परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि बिद्यालय बन्द गर्नुपरेको बताइएको छ । चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन् ।
इलाम अस्पतालसहित फिक्कल बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबार लगायतका स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गरेको छ । साथै निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढेको छ ।
ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छ । बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ । पानी उमालेर मात्र खाने, चिसोबाट जोगिनसमेत स्वास्थ्यकर्मीको सल्लाह छ ।
बर्खामा दूषित पानीसहितको भेल पानीको मुहानमा पस्ने र सोही पानी प्रयोगका कारण पनि ज्वरोका बिरामी बढेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij