Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । आज नेवार समुदायले घण्टाकर्ण - गथांमुग पर्व मनाउँदैछ। प्रत्येक वर्ष दिलागा चर्हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग भूतप्रेतसँग सम्बन्धित पर्व हो। आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाएमा भूतप्रेत, बोक्सी लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहने कथन छ।
फलामबाट राक्षसी शक्तिलाई पराजित गर्न बेलुकी घरको मूल ढोकामा (प्यांकी) तीन खुट्टे फलामे किला ठोक्ने प्रचलन समेत रहेको छ। यसबाट घरभित्र भूतप्रेत पस्न नसक्ने र फलाम ठोकेपछि घरबाट राती बाहिर निस्कन नहुने जनविश्वास रहेको छ।
खेतीपातीको समय सकेपछि मानिसहरु आराम गर्ने यो समयमा उनीहरुलाई सफा गर्ने प्रोत्साहन गर्ने स्वरुप यो पर्व सुरु भएको स्थानीय बताउँछन्।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नर्कट र छ्वालीबाट राक्षसको प्रतीक बनाई त्यसलाई जलाउने परम्परा रहेको छ। भक्तपुरका टोलटोलमा घण्टाकर्णको प्रतीकका रुपमा छ्वालीबाट राक्षस बनाएर जलाउने गरिन्छ। कतैकतै भने घण्टाकर्णलाई नगरबाट तानेर खोलासम्म लगेर बाल्ने चलन रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij