
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा एमालेले गठबन्धन नगर्ने बताएका छन् ।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक समेत रहेका भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने बताएका हुन् ।
स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन भएपनि राष्ट्रियस्तरमा एमालेले तालमेल र गठबन्धन नगर्ने बताउँदै भट्टराईले भने, ‘यो निर्वाचनमा राष्ट्रियस्तरमा एमालेले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन , एमाले एक्लै चुनाव लड्छ ।
लोकप्रिय र जित्ने मात्रै नभएर स्थानीय तह चलाउन सक्ने उम्मेदवारको खोजीमा एमाले रहेको र स्थानीयस्तरमा स्थानीय आवश्यकताअनुसार कहिँकतै कार्यगत एकता भएबाहेक राष्ट्रिय स्तरमा एमालेले गठबन्धन नगर्ने भट्टराईको भनाइ छ ।
९ र १० गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने र आसन्न स्थानीय निर्वाचनको सम्पूर्ण तयारी गर्ने कुरामा बैठक केन्द्रीत हुने बताउँदै उनले आज बोलाइएको पोलिटब्युरो बैठकका दुई एजेण्डा रहेको पनि बताए ।
एकातिर एमाले र अर्कोतिर गठबन्धन कित्ताबन्दी भएको अवस्था रहेकाले यस्तो अवस्थामा एमालेले सर्वसम्मत उम्मेदवार छानेर अघिल्लो निर्वाचनको तुलनामा अत्याधिक सिट जित्नेगरी एमालेले तयारी गर्ने बताउँदै उनले भने, ‘यो बैठकले घोषणापत्र र उम्मेदवारका मापदण्ड पनि तय गर्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij