
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । २०४३ को आमचुनावमा तत्कालीन मालेले जनपक्षीय निर्वाचनको नीति लियो । काठमाडौंमा उम्मेदवार भए पद्मरत्न तुलाधर । पञ्चायतकालमा उम्मेदवारपिच्छे चुनाव चिह्न हुन्थ्यो, तुलाधरलाई पार्टीले सूर्य चिह्न थमाइदियो ।
त्यसबखत तत्कालीन मालेको काठमाडौं जिल्ला कमिटी सचिव रहेका नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सूर्य चिह्नलाई मतदाताले पहिलो नजरमै अत्यन्तै रुचाएको सम्झना गर्छन् ।
‘पद्मरत्नजीकै पक्षमा ८६ हजार मत आयो, अरू उम्मेदवारको चुनाव चिह्न भुल्दै गयौं तर सूर्यलाई बिर्सिन सकेनौं,’ पाण्डेले भने, ‘काठमाडौंमा हामीले असाध्यै राम्रो मतले पनि जित्यौं र काठमाडौंमा सूर्य चुनाव चिह्न पपुलर पनि भयो ।’ ४० को दशकको सुरुवाती समय कम्युनिस्ट पार्टीहरूका लागि उति अनुकूल थिएन । भूमिगतकालीन राजनीतिमै रहेका कम्युनिस्ट दलहरू १२ टुक्रामा थिए । धेरैको झुकाव कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय पहिचान बोकेको हँसिया–हथौडामा थियो । २०४६ को जनआन्दोलनमा कम्युनिस्टहरू हँसिया–हथौडा अंकित झन्डा नै बोकेर सडकमा ओर्लिए ।
२०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिह्नका रूपमा निर्वाचन आयोगमा दर्ता गर्यो तर झन्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनुअघि नै विभाजनको अभ्यासमा छ । वैधानिक रूपमा फुटको घोषणा नगरेको भए पनि पार्टी अब एक छैन भन्नेमा नेकपामा नेता–कार्यकर्ता ‘कन्भिन्स’ भइसकेका छन् । त्यसैको फलस्वरूप केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालयमा ताला लगाउने होडबाजीमा दुवै पक्ष देखिन्छन् तर त्योभन्दा ठूलो होडबाजी चुनाव चिह्न सूर्य पाउनका निमित्त छ । त्यसको लडाइँचाहिँ ४० औं वर्ष सहकार्य गरेर राजनीतिक जीवनको उत्तरार्द्धतिर पुग्नै लाग्दा टुक्रिन लागेका तत्कालीन एमालेका शीर्ष नेताबीच झन् धेरै देखिन्छ । कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij