काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहका १५ जना नेताले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुनुपर्ने बताएका छन् ।
बुधबार एक वक्तव्य जारी गर्दै खनाल नेपाल समूहले यस्तो कुरा बताएको हो । १५ नेताले ओलीको स्वेच्छाचारी, निरङ्कुश र प्रतिगमनकारी कदमविरुद्ध सबैको एकताबद्ध सङ्घर्ष र सहकार्य अपरिहार्य रहेको बताएका हुन् ।
वक्तव्यमा भनिएको छ - "केपी शर्मा केपी शर्माका पार्टी भित्र र देशमा गरिएको स्वेच्छाचारी, निरङ्कुश र प्रतिगमनकारी कदमविरुद्ध सबै वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध सङ्घर्ष र सहकार्य अपरिहार्य भएको छ । यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं ।"
"यसका लागि आआफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की ,प्रलोभन र भ्रमलाई अस्विकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा एमालेका सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं ।"
वक्तव्यमा १५ नेताले राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवम् जनसमुदायमा एक हुने बेला आएको पनि बताएका छन् ।