
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा बुधबार आयोजित शोकसभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन् ।
सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताएका हुन् । उनले भने, “कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकामा आयो भने भाग्ने पनि छैन । प्रधानमन्त्री पाउँ पनि भनेको छैन । आयो भने भाग्नेवाला पनि छैन ।” आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भने, “चिन्ता नलिनुस् रामचन्द्रजी म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला । तपाई शेरबहादुरजी हुनै हुँदैन भन्ने चाहनुहुन्नजस्तो लाग्छ । तपाईंको भनाइबाट त्यही बुझियो ।” पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै उनले अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्ने बताए ।
सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसद्मा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताए । उनले भने, “विपक्षी दलको सही भूमिका कांङ्ग्रेसले निर्वाह गर्नुपर्छ ।” कांग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्नसके अर्कोपटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरी संसद्मा बलियो पार्टी बन्ने पनि उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij