Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा शान्ति सम्झौता भएपछि विश्वका विभिन्न नेताहरूले अमेरिका–इरान सम्झौताको स्वागत गरेका छन्। विश्व नेताहरूले यस सम्झौताले मध्यपूर्वमा स्थायित्व र विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्।
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले यसलाई ‘बृहत्तर सम्झौताका लागि महत्वपूर्ण कदम’ भएको बताइन्। उनले समझदारीपत्र (एमओयू) प्रभावकारी रूपमा कार्यान्वयन होस्, हर्मुज जलडमरूमध्यमा स्वतन्त्र र सुरक्षित जलयातायात सुनिश्चित होस् तथा इरानको आणविक कार्यक्रमलगायतका विषयमा अन्तिम सम्झौता छिट्टै होस् भन्ने अपेक्षा व्यक्त गरिन्।
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरान र अमेरिकाका नेताहरूलाई बधाई दिँदै यो सम्झौताले अझ व्यापक प्रगतिका लागि मार्ग प्रशस्त गर्न सक्ने बताए। ‘यसले विश्व अर्थतन्त्रलाई नयाँ ऊर्जा दिनुका साथै मध्यपूर्वलाई थप सुरक्षित बनाउने बाटो खोल्न सक्छ,’ उनले भने।
न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले हर्मुज जलमार्ग पुनः खुलासहित सम्झौताको शीघ्र कार्यान्वयन हुने आशा व्यक्त गरे। उनले सामाजिक सञ्जाल एक्समार्फत सबै पक्षलाई सकारात्मक गति कायम राख्न आग्रह गर्दै भने, ‘अवस्था अझै संवेदनशील भए पनि दशकौँदेखिका चुनौती समाधानतर्फ यो रचनात्मक कदम हो।’
यो सम्झौतासँगै तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वमा जारी युद्ध अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको छ। सम्झौतासँगै हर्मुज जलमार्ग पुनः खुला हुने र सबै मोर्चामा युद्धको तत्काल तथा स्थायी अन्त्य हुने घोषणा गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij