Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । वाणिज्य बैंकहरूले सेयर बजारतर्फको कर्जा लगानी उल्लेख्य रूपमा बढाएका छन्। बैंकहरूले सेयर धितो कर्जामा आक्रामक रूपमा लगानी विस्तार गरेका हुन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनासम्म (वैशाख मसान्त) को तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले कुल १ खर्ब ३९ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ३ अर्ब १३ करोड ७७ लाख रुपैयाँ रहेको थियो। यस आधारमा एक वर्षको अवधिमा सेयर कर्जा ३५.३८ प्रतिशतले वृद्धि भएको देखिन्छ।
समीक्षा अवधिमा सबैभन्दा बढी सेयर कर्जा प्रवाह गर्ने बैंकमा नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिलले वैशाखसम्म १७ अर्ब ६८ करोड ६२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको १४ अर्ब ५९ करोड ३५ लाख रुपैयाँको तुलनामा २१.१९ प्रतिशत बढी हो। सेयर कर्जा प्रवाहका हिसाबले दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले अघिल्लो वर्ष वैशाखसम्म ११ अर्ब ५९ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा चालु वर्षको सोही अवधिसम्म २४.७८ प्रतिशत वृद्धि गर्दै १४ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ।
कुमारी बैंक तेस्रो ठूलो सेयर कर्जा प्रदायक बनेको छ। बैंकले वैशाखसम्म १० अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ९ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ थियो। जुन १४.०२ प्रतिशतले बढेको छ। यता, समीक्षा अवधिमा १६ वटा बैंकको सेयर कर्जा वृद्धि भएको छ भने नेपाल बैंक, सिटिजन्स बैंक र नेपाल एसबीआई बैंकको सेयर कर्जा घटेको छ। नेपाल बैंकको सेयर कर्जा १३.८९ प्रतिशत, सिटिजन्स बैंकको १४.७२ प्रतिशत र नेपाल एसबीआई बैंकको ७.३३ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने यस शीर्षकअन्तर्गत कुनै पनि कर्जा प्रवाह गरेको छैन।
सबैभन्दा कम सेयर कर्जा प्रवाह गर्ने बैंक नेपाल एसबीआई बैंक रहेको छ। यद्यपि कर्जा वृद्धिदरका आधारमा कृषि विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकको सेयर कर्जा एक वर्षको अवधिमा १५६.१६ प्रतिशतले वृद्धि भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij