
Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकले बोलकबोल प्रणालीमार्फत निक्षेप संकलन गर्ने जनाएको छ ।
हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेकाले तरलता व्यवस्थापन र बजार ब्याजदर समायोजनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो ।
खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । आजको बोलकबोलमा ‘क, ख र ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाले प्रस्ताव गरेको ब्याजदरमध्ये सबैभन्दा कम दरलाई प्राथमिकता दिइनेछ । न्यूनतम बोल रकम १० करोड रुपैयाँ रहनेछ भने अधिकतम बोल रकम ५ करोड रुपैयाँका गुणकमा विभाजन हुने गरी तोकिएको छ ।
आज हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ साल भदौ २९ गते हुनेछ । बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत हुने र ब्याजदर समेत सोही प्रक्रियाबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij