
Jun 12 2025 | २०८२, जेठ २९ गते
काठमाडौं । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन् ।
आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।
“विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोवार पनि रोक्का गरिएको छ”, उनले भने । आन्तरिक राजस्व विभागले छ महिनादेखि लगातार मूल्यअभिवृद्धि कर विवरण नबुझाएका करदादातालाई निलम्बन गर्दै आएको छ ।
बाँकेमा आठ हजारभन्दा बढी मूल्यअभिवृद्धिमा आबद्ध करदाता रहेका छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भएर पनि बेवास्ता गर्दा विभागको निलम्बनमा परेको प्रमुख न्यौपानेले जानकारी दिएका छन् ।
उनले यसअघि कानुन अस्पष्ट हुँदा यस्तो कारबाही नभए पनि अब ऐन, नियम स्पष्ट भएकाले अबदेखि निलम्बनको कारबाही निरन्तर हुँदै जाने स्पष्ट पारे । “निलम्बन भएका फार्मसँग कुनै कारोबार गर्नुहँदैन, यसले कारोबार गर्नेलाई पनि समस्या हुन्छ”, उनले भने । यसअघि विभागले मूल्यअभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम लगातार छ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरेको थियो । यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्यअभिवृद्धि कर दर्ता निलम्बन गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij