
Aug 20 2025 | २०८२, भदौ ४ गते
ललितपुर । ललितपुरमा ट्याक्सी चालकलाई खुकुरी प्रहार गरी लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाका अनुसार, भदौ १ गते राति करिब ३ बजे ललितपुरको हात्तीवनबाट चालक बद्री नगरकोटीले चलाएको बीएएच ९३४५ नम्बरको ट्याक्सीमा चढेका दुई जनाले उनलाई ललितपुरको ठैबतर्फ जाँदै गर्दा खुकुरीले आक्रमण गरेका थिए ।
ट्याक्सी ठेक्बार गर्दै ललितपुरको गोदावरी नगरपालिका–१४, ठैब दमाइटार सडक खण्डमा पुगेपछि उनीहरूले चालक नगरकोटीको घाँटी र देब्रे हातमा खुकुरी प्रहार गरेर घाइते बनाएका थिए । साथै, उनीहरूले चालकसँग रहेको नगद, मोबाइल र चाँदीको सिक्री लुटेर फरार भएका थिए ।
पक्राउ पर्नेहरूमा खोटाङ घर भई ललितपुर महानगरपालिका–१७, शिवटोल बस्ने सिमन राई र इमाडोल बस्ने १८ वर्षीय सविन राई रहेका छन् । उनीहरूलाई सोमबार बेलुका पक्राउ गरी ज्यान मार्ने उद्योग र डाँका चोरीको आरोपमा म्याद लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij