
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । मालपोत कार्यालय उदयपुरका प्रमुख दुविन्द्रप्रसाद बराल सवार जिप दुर्घटना भएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत मुर्कुची–नेपालटार खण्डको नागबेलेस्थित ओरालो घुम्तीमा मङ्गलबार बिहान ७ः३० बजे भएको दुर्घटनामा परी चालकसहित ४ जना घाइते भएका हुन् ।
मालपोत कार्यालयकै स १ झ ४८५ नं. को बोलेरो जिप सडकमा आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परी चालक ५० वर्षीय जीतबहादुर कार्की, मालपोतकै खरिदार ३५ वर्षीय तेजनारायण साह, उदयपुरगढी गाउँपालिका ५ की ४० वर्षीया सरिता भण्डारी र उनकै छोरी १७ वर्षीया संरचना भण्डारी घाइते भएका छन् ।
कार्यालयको काममा उदयपुरगढी गाउँपालिका गएर फर्कँदै गरेका मालपोत अधिकृत बरालसहितको कर्मचारी टोली कार्यालयको काम भ्याउन भन्दै बिहानै सदरमुकाम गाईघाट फर्कने क्रममा दुर्घटनामा परेको हो ।
घाइतेहरूको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा चालक कार्की र खरिदार साहको अवस्था गम्भीर भएकाले थप उपचार गर्न १०ः३० बजे नै विराटनगर रिफर गरिएको छ । महिला र बालिकाको उपचार जिल्ला अस्पतालमै भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij