
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भैइरहेकोमा आज समापन हुनेछ ।
योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ । साथै व्रतवन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि सोमबार नै समापन हुनेछ ।
आइतबार पनि कोटीहोममा करिब दुई लाख भक्तजन सहभागी भएको आयोजकको दावी छ । हालसम्ममा कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
आइतबार चलचित्र नायक आर्यन सिग्देल, नायिक अञ्जना बराइली, निर्देशक दिवाकर भट्टराईलगायत सहभागी भए ।
शनिबार २१ करोड दीप प्रज्ज्वलन भएको थियो भने करिब पाँच लाख भक्तजन सहभागी भइका थिए । हालसम्म करिब सात करोड ५० लाख रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।
कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । कोटीहोमको समयावधि थप भएसँगै उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन् ।
कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गरेका थिए ।
कोटीहोममा हालसम्मकै सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियो्गिता र राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij