
Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौं । सप्तकोशी नदीमा डल्फिनमा नयाँ रेकर्ड पाइएको छ । डल्फिनको संख्या कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बढेर २२ पुगेको छ ।
कोशी नदीमा गरिएको चारदिने डल्फिन गणनामा १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन फेला परेका हुन्। चैत १५ देखि १८ सम्मको गणनाबाट कोशी नदी तथा आरक्ष क्षेत्रमा डल्फिन गणना गरिएको हो ।
जसको नतिजा बिहीबार सार्वजनिक गर्दै कोशी नदीमा २२ वटा डल्फिन रहेको जनाएको हो ।
यहाँ पछिल्लो पटक सन् २०२३ मा डल्फिन गणना गरिएको थियो । जहाँ १९ वटा डल्फिन गणना भएको थियो। २०२४ मा भने धेरै बाढी आएका कारण डल्फिन गणना गरिएको थिएन ।
सन् २०१२ मा ११, सन् २०१७ मा १७ वटा डल्फिन देखिएका थिए । त्यसपछि आरक्षले डल्फिनको संरक्षणमा प्राथमिकता दिएको हो । त्यसपछि वार्षिक गणनाको अभ्यास थालिएको आरक्षले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षले २०२२ मा १७ डल्फिन तथा २०२३ मा १९ वटा डल्फिनको गणना गरेको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार डल्फिनको संख्या यो वर्ष वृद्धि हुनु संरक्षणको दृष्टिले सकारात्मक मानिएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष, भीमकाली गुल्म, राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र, हिमाली प्रकृति, कोशी बर्ड अब्जरभेटरीको सहभागितामा डल्फिन गणना गरिएको गौतमले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij