
Apr 29 2025 | २०८२, वैशाख १६ गते
आदिवासी जनजाती मध्येका मगर समुदायले बोल्ने मगर खाम र मगर ढुट भाषा लोप हुन थालेपछि संरक्षणका लागि प्रशिक्षण अभियान
काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिकाले मगरभाषा संरक्षणका लागि अभियान थालेको छ । आदिवासी जनजाती मध्येका मगर समुदायले बोल्ने मगर खाम र मगर ढुट भाषा लोप हुन थालेपछि संरक्षणका लागि प्रशिक्षण अभियान थालिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पहिलो चरणमा काठेखोला–१ का मगर समुदायलाई एकमहिने मगर भाषा (ढुट) तालिम दिएको छ । परापूर्वकालमा मगर खाम भाषा र मगर ढुट भाषा बोल्दै आएका गाउँवासीलाई मगर ढुट भाषा सम्बन्धी एकमहिना लामो प्रशिक्षण दिइएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
उहाँले काठेखोला–१ बाट थालेको मगर भाषा प्रशिक्षण तामिललाई गाउँपालिकाभर अभियानका रुपमा चलाइने बताउनुभयो । उहाँले आफ्नो भाषा संस्कृति र संस्कारलाई जोगाउनु गाउँपालिकाको कर्तव्य रहेको जनाउँदै गाउँपालिका भरका मगर समुदायलाई मगर भाषा सिकाइने बताउनुभयो । पछिल्लो समय चलनचल्तीको भाषाका रुपमा मगर ढुटलाई लिनेगरी अभियान थालिएको छ ।
एक महिना लामो तालिमले मगर भाषाको विषयमा सामान्य जानकारी र कुराकानी गर्न सिकेको तालिममा सहभागी स्थानीय पूर्णबहादुर थापा मगरले बताउनुभयो । तालिममा ७५ महिला, पुरुष तथा युवा सहभागी रहेका थिए । सामान्य घरायसी कामकाजका लागि मगर भाषामा कुराकानी गर्न सक्ने भइएको भए पनि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयको माग छ ।
एक महिना पाँच दिनसम्म सञ्चालनमा आएको तालिममा धिमिका १८, दोबिल्लाका १८ र करिनाका ३९ मगर समुदायलाई तालिम दिइएको थियो । तालिमको प्रशिक्षण खर्च रु एक लाख गाउँपालिकाले उपलब्ध गराएको र अन्य खर्च स्थानीयले गरेका थिए । तालिमपश्चात् मगर भाषामा सामान्य कुराकानी गर्न थालिसकेको वडाध्यक्ष थापाले बताउनुभयो । नेपाली मगर माषामा (ढुट, खाम, काइके र पोइके) प्रचलित भाषा हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij