
Apr 30 2025 | २०८२, वैशाख १७ गते
गण्डकी। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा पेस गराइएकामा प्रतिवादी छविलाल जोशीको बयान आज सकिएको छ ।
नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (डीआइजी) समेत रहनुभएका जोशीको जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा दुई दिन लगाएर बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । जोशीको बयान सकिएपछि अर्का प्रतिवादी लीला पछाइको बयान सुरु गरिएको उहाँले बताउनुभयो ।
पछाइको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने सूचना अधिकारी अधिकारीले बताउनुभयो । सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने जनाइएको छ ।
यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij