
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । दिल्ली — नेपाल र भारतबीचको सदियौं पूरानो सम्बन्धबारे दिल्लीमा चर्चा भएको छ । राजनीतिज्ञ, कुटनीतिज्ञ र पत्रकारिता क्षेत्रका दिग्गजहरुले दुई देशबीचको कसिलो सम्बन्ध विश्वका लागि उदाहरणीय रहेको बताएका छन् ।
नेपालमा भारतका लागि पूर्व राजदूत केभी राजन र अतुल ठाकुरले संयुक्त रुपमा लेखेको पुस्तक ‘काठमाडुं क्रोनिकल’ को विमोचन समारोहमा नेपाल–भारतको सम्बन्धमाथि चर्चा भएको हो ।
भारतीय जनता पार्टीका पूराना तथा वरिष्ठ नेता मुरली मनोहर जोशीले भारतको राजनीतिमा कम प्राथमिकता तथा मिडियामा समेत पछाडि पारिँदै आएको नेपालसँगको सम्बन्धबारे चर्चा आवश्यक रहेकोमा जोड दिए । उनले दुई देशबीचको सम्बन्ध विश्वको धेरै इतिहासहरुभन्दा पूरानो रहेको दाबी गरे ।
दुई राष्ट्रको सिद्धान्तभन्दा अलग सामाजिक, सांस्कृतिक र धार्मिक कोणबाट हेर्दा सम्बन्ध अतुलनीय रहेको चर्चा गरे । उनले हजारौँ वर्ष पूरानो सम्बन्धबारे सबैले जानकारी राख्नुपर्नेमा जोड दिए । संस्कृतिले सधैंभरि दुई देशलाई जोड्दै आएपनि राजनीतिले अलग गर्दै आएको उनले बताए ।
पूर्व राजदूत राजनले नेपालमा रहँदाको आफ्नो अनुभव सुनाउँदै दुई देशबीच अद्वितीय सम्बन्ध रहेको बताए । कार्यक्रममा नेपालका उद्योगपति तथा सांसद विनोद चौधरी, पुस्तक लेखक अतुल ठाकुर लगायतले सम्बन्धको नयाँ आयामहरु बारे चर्चा गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij