
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं दोधारा चाँदनी (कञ्चनपुर)- कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन्। नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन्। गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गरिन्।
'साउनदेखि तलब पाएका छैनौँ, अब त खर्च चलाउनसमेत गाह्रो भइसक्यो', धामीले भनिन्, 'तबलको कुरा गर्दा बजेट पास भएको छैन, काम गर्दै गर्नुस् भनेको १० महिना भइसक्यो।' गड्डाचौकी हेल्थ डेस्कमा ११ स्वास्थ्यकर्मी कार्यरत छन्।
विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमका चार वटै हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मी २७ जना छन्। स्वास्थ्यकर्मीले साउनयता तलब नपाएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड स्थानीय स्रोत व्यक्ति हेमराज जोशीले बताए। 'सङ्घीय सरकारबाट बजेट निकासा नहुँदा साउनयता तलब दिन सकिएको छैन', जोशीले भने, 'बजेट निकासाका लागि अर्थ मन्त्रालयमा फाइल अगाडि बढाएका छौँ।' रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij