काठमाडौँ । दुग्ध विकास संस्थानद्वारा रसुवामा सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई १० हजार जरिवाना गरिएकोछ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो ।
केन्द्रलाई कारबाहीस्वरूप १० हजार जरिवाना गराउँदै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले सचेत समेत गराएको छ । बजार अनुगमन समितिले गोसाइँकुण्ड धार्मिक मार्गस्थित चन्दनबारी चिज उत्पादन केन्द्रको भण्डारमा सडेर राखेका चिज बजारमा बिक्री–वितरण भएको भन्ने गुनासो बढेपछि केन्द्रको भण्डारमा छापा मारेको थियो ।
सहायक प्रजिअ एवं अनुगमन समितिका संयोजक ज्ञवालीले सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्ट गरिएको जानकारी दिए ।