
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ ।‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापन लागिपरेको छ । यसका लागि लामो समयदेखि विभिन्न कारणले रोकिएका योजनालाई एकैसाथ अघि बढाएर काम थालेको निगमले कामको कीर्तिमान नै राख्ने गरी तयारीमा जुटेको जनाएको छ ।
निगमले थालेका पछिल्ला कार्यमध्ये सुधारको नमूनाका रुपमा थानकोट डिपोलाई लिन सकिन्छ । केही समय पहिलासम्म अस्तव्यस्तरुपमा रहेको वाग्मती प्रदेशको प्रादेशिक कार्यालयसमेत रहेको सो कार्यालय अहिले एउटा नमूना कार्यालयकैरुपमा दर्ज हुन सफल पनि भएको छ । कार्यालय परिसर चिटिक्क पारिएको छ । अस्तव्यस्तरुपमा बाटोभरि पार्क गर्ने गरिएका तेल बोक्ने ट्याङकरहरु अहिले ढलान गरिएको आफ्नै पार्किङमा लाइनमा राखेको देख्न सकिन्छ ।
दश वर्ष पहिले थानकोट डिपोबाट दैनिक करीब १० गाडी पेट्रोल, १५ गाडी डिजेल र २–४ गाडी मट्टितेल खपत हुन्थ्यो । तर पछिल्ला १० वर्षमा यी इन्धनको खपत ह्वात्तै बढेको छ । अहिले १०० गाडीको हाराहारीमा दैनिक कारोवार हुने गरेको छ । अहिले दैनिक एक हजार ५०० देखि दुई हजार किलोलिटर इन्धन यहाँबाट बाहिरिन्छ । यसका लागि निगमको क्षमता बढाउनुको विकल्प थिएन । नियमित मर्मतसम्भार हुन नसक्दा डिपोको अवस्था नाजुक थियो । सेवाग्राहीको सङ्ख्या पनि व्यापकमात्रामा बढेको छ । पेट्रोलियम पदार्थ निकै संवेदनशील हुने भएकाले पनि उचित सुरक्षा र सरसफाइ जरुरी हुन्छ, र त्यसमा निकै कमी पाइएको थियो ।
डिलर, पम्पलाई राम्रो बनाउनुपर्छ भनेर दबाब दिने निगम स्वयंको डिपो भने कवाडजस्तो अवस्थामा राख्नुहुन्न भन्ने सोचाइका साथ सुधार र मर्मतसम्भारका कामलाई अघि बढाइएको निगमले जनाएको छ ।
थानकोट डिपोका कार्यालय प्रमुख ई प्रदीप कुमार यादव भन्नुहुन्छ, “सरकारी कार्यालय भन्नेबित्तिकै हाम्रो मानसपटलमा टुटेफुटेका झ्याल, ढोका र फोहर शौचालयको तस्वीर आउँछ । विगतमा सरकारी कार्यालयको आवश्यक मर्मत र सम्भार नहुँदा मानिसको दिमागमा यस्तो पर्न गएको हो । तर अहिले यहाँ आइपुग्ने सेवाग्राही निकै प्रसन्न छन् । काममा छिटोछरितो भएको छ, सेवाग्राहीले तुरुन्त सेवा पाउने वातावरण बनेको छ । पहिले एक घण्टा लाग्ने काम अहिले १०–१५ मिनेटमै हुने गरेको छ ।”
भौतिक सुधारका लागि थानकोट डिपोमा यस वर्ष झण्डै पाँच करोड खर्चिएको निगमले सुधारका कार्यलाई व्यापकता दिएको छ । कार्यालय प्राङ्गण सफा सुग्घर हुनुका साथै क्यान्टिन, सभाहल, प्रतीक्षालय, शौचालयसमेतका आधारभूत पूर्वाधार निर्माण भएका छन् । स्थानीयवासीले सधैँ गुनासो गर्दै आएको पार्किङको विषय पनि अहिले सुल्झिएको छ । थानकोटको राजमार्गदेखि निगमको डिपोसम्मको करिब ३०० मिटर भित्री बाटोमा १०० देखि १५० वटा बढी ट्याङ्कर दिनभर पार्क गरिन्थ्यो । बाटोमा एम्बुलेन्स, विद्यालयका बससमेत गुड्ने अवस्था पनि हुँदैनथ्यो । स्थानीयवासीका लागि पनि टाउको दुखाई हुँदै आएको यो समस्या निगमले अहिले सुल्झाएको छ । अहिले निगमकै झण्डै ६० रोपनी जग्गाभित्र पूर्वतर्फ झण्डै ३०० वटा ट्याङ्कर अटाउने व्यवस्थित पार्किङ स्थल बनाइएको छ ।
डिपोभित्र तेल जाँच गराउन पुगेका एक ट्याङ्कर चालक मनोज अधिकारी भन्नुहुन्छ, “दश महिना पहिले यहाँ सेवा लिन घण्टौँ बस्नुपथ्र्यो । तेल खन्याउन र भर्न आफ्नो पालो कहिले आउला भनेर कुर्नुपथ्र्यो । अहिले त्यस्तो छैन । आफ्नो कागज पेश गरेर टोकन लियो, पालैपालो सेवा लियो । ‘सिस्टम’ बसेको छ । डिपोले दिने सेवामा ८० प्रतिशतभन्दा बढी सुधार आएको छ ।”
निगमले कार्यक्षमतामा सुधार ल्याउन गरेको अर्को प्रयास हो लोड–अनलोड सेड निर्माण । करीब रु एक करोडको लागतमा निगमले यसै वर्ष तीन वटा सुविधा सम्पन्न र अग्नि सुरक्षित सेड निर्माण गरेको छ । निगमसँग यसअघि सात वटा सेड थिए, अर्थात् एकपटकमा सात वटा ट्याङ्करमा तेल भर्न सकिन्थ्यो । तर अब १० वटासम्म ट्याङ्करमा एकसाथ तेल पर्न सकिन्छ । सुरक्षात्मक उपाय मजबूत बनाइएका यी प्रत्येक सेडबाट १५–२० मिनेटभित्रै एक ट्याङ्कर तेल भर्न सकिन्छ ।
यादव भन्नुहुन्छ, “यो संवेदनशील स्थान भएको हुनाले हामी यसमा सचेत छौँ । यहाँ हामीले सुरक्षाका सबै उपायहरु अवलम्बन गरेका छौँ । दमकललगायतका सबै कुरा तयारी अवस्थामा हुन्छन् । यहाँ आगलागी भए पनि दुई मिनेट भित्रै निभाउन सक्ने क्षमता निगमसँग छ ।”
सेवाग्राहीको सजिलोका लागि अहिले टोकन प्रणाली राखिएको छ । सबै काम कम्प्युटर प्रणालीमा हुने हुनाले कुनै समस्या हुँदैन र काममा छिटो हुन्छ । डिलर र ट्रान्सपोर्टरलाई कुनै समस्या हुँदैन । घण्टाँै पखर्नुपर्ने काम केही समयमा नै हुन्छ । त्यसैले चाह्यो भने काम गर्ने तरिका या प्रणालीमै परिवर्तन गर्न सकिने यादव बताउनुहुन्छ । उहाँको धारणा छ तर त्यसको लागि इच्छा शक्तिको भने आवश्यकता पर्दछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij