
May 21 2025 | २०८२, जेठ ७ गते
रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम रहेको मन्थली नगरपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको लव श्रेष्ठ मेयरमा विजयी भएका छन् । श्रेष्ठले निकटतम प्रतिस्पर्धी कांग्रेसको उम्मेदवार विनोद कुमार कार्कीलाई पराजित गर्दै मन्थलीको मेयरमा विजय हासिल गरेका हुन् ।
श्रेष्ठले ९ हजार ७ सय १८ मत ल्याएर विजय हुँदा कार्कीले ९ हजार १ सय २२ मत ल्याएर पराजित भए । श्रेष्ठसँगै मन्थलीको उपमेयरमा पनि एमालेकी उम्मेदवार ईश्वरी बस्नेत विजयी भएकी छन् । उनले ९ हजार १ सय ६१ मत ल्याएर विजयी भएकी हुन् । उनको प्रतिस्पर्धी कांग्रेसकी यसोदा श्रेष्ठले ९ हजार ५४ मत ल्याएकी छन् ।
मन्थली नगरपालिकामा एमालेले मेयर–उपमेयर सहित ६ वटा वडा जीत हात पारेका छन् । एमालेबाट मन्थलीको २ नम्बर वडामा सुरेन्द्र बहादुर कार्की, ३ नम्बर वडामा कृष्ण गोपाल थापा, ८ नम्बर वडामा गोपाल श्रेष्ठ, ९ नम्बर वडामा गोकर्ण राज आरण, १३ नम्बर वडामा नवराज थापामगर, १४ नम्बर वडामा मोतिलाल तामाङले जीत हात पारेका छन् ।
त्यस्तै कांग्रेसबाट १ नम्बर वडामा होमप्रसाद पौडेल, ४ नम्बर वडामा राजन घिमिरे, ६ नम्बरमा अशोक कुमार तामाङ, ७ नम्बरमा भुवन हरि प्रसाईं, १० नम्बर वडामा गोपीलाल तामाङ, १२ नम्बर वडामा खिलेन्द्र बहादुर खत्री गरी ६ वटा वडामा विजय हासिल गरेका छन् ।
माओवादीको तर्फबाट एउटा वडामा मात्र विजयी भएका छन् । माओवादीले ११ नम्बर वडामा भिमबहादुर थापामगर विजय भएका छन् । भने नेकपा एकीकृत समाजवादीका रविन कुमार कार्कीले वडा नम्बर ५ मा विजयी हासिल गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij