
May 20 2025 | २०८२, जेठ ६ गते
रामेछाप । सत्ता गठबन्धन दलबीच रामेछापमा चुनावी तालमेल नहुने लगभग नहुने भएको छ । सत्ता गठबन्धनको पहिलो औपचारिक बैठकपछि दोस्रो बैठक नबसी सत्ता गठबन्धनको ठुला दल नेपाल कम्युनिष्ट (पार्टी माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच दरार पैदा भएको छ ।
रामेछपामा सत्ता गठबन्धन दलमा आवद्ध ४ वटा दल छन् । जसमा माओवादी, कांग्रेस, एकीकृत समाजवादी र जसपा रहेको छ । ४ दलबीच पहलो औपचारिक बैठक पछि अहिलेसम्म दोस्रो बैठक बसेको छैन । तर, माओवादी र कांग्रेसको नेताहरु भने अब चुनावी तालमेल नहुने भन्दै आ–आफ्नो तयारीमा लागेको छ ।
नेपाली कांग्रेस रामेछापको जिल्ला सभापति पूर्णबहादुर तामाङ‘कान्छाराम’ले रामेछापमा अब चुनावी तालमेल नहुने र एक्लै चुनावमा जाने तयारी भएको बताए । उनले कांग्रेसलाई मान्छे नगनेपछि गठबन्धन भाँडिएको बताए । रामेछापमा कांग्रेस र माओवादीले एक अर्कोलाई मिनिमाइज गर्न खोज्दा चुनावी तालमेल भाँडिएको हो । कांग्रेस सभापति तामाङले आफूहरुले पटक–पटक गठबन्धन गर्न बैठक बसेको तर माओवादीले मान्छे नगनेको कारण चुनावी तालमेल भाँडिएको बताए । कांग्रेसले माओवादीलाई २०७४ मा जितेकोभन्दा केही सिट थपेर दिने प्रस्ताव गरेको तर, माओवादीले ५ वटा स्थानीय तह र ३३ वटा वडा मागेको तामाङले बताए ।
तर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछापको सचिव तथा पूर्वसांसद तारानारायण श्रेष्ठले कांग्रेसले आफ्नो हैसियतभन्दा बढी भाग खोज्दा तालमेल भाँडिएको बताए । श्रेष्ठका अनुुसार कांग्रेसले ५ वटा स्थानीय तह र बहुमत वडाको बटमलाइन बनाएको थियो । रामेछापमा कांग्रेसले २०७४ मा एक स्थानीय तह र १३ वडा जितेको छ । माओवादीले नेकपा एकीकृत समाजवादीलाई समेत सम्मानजनक रुपमा भागबण्डामा जान प्रस्ता गर्दा नमानेर आ–आफ्नो तयारी गरौं भनेर सभापति तामाङ उठेको श्रेष्ठले बताए ।
एकीकृत समाजवादीको केन्द्रीय पोलिटव्यूरो सदस्य तथा रामेछाप जिल्ला सहइन्चार्ज होम बुढाथोकीले रामेछापमा सत्ता गठबन्धन दलको बैठक औपचारिक रुपमा एउटाभन्दा अरु नबसेको बताए । उनले पहिलो बैठक पनि खासै अर्थपूर्ण रुपमा नबसेको र त्यसपछि दोस्रो बैठक अहिलेसम्म नबसेको उनले बताए । उनले सत्ता गठबन्धनको बैठकनै नबसी नेताहरुले गठबन्धन नहुने भयो भन्ने विषय उनीहरुको निजि विषय भएको बताए । उनले यस्तो विषय व्यक्तिले आफू खुसी भन्दा पनि संस्थागत रुपमा राख्दा राम्रो हुने बताए । यो गठबन्धन रामेछापमा मात्र नभएर केन्द्रीय निर्णय अनुसार देशै भरी भएको कारण केन्द्रको निर्णय सबैले मान्नुपर्ने बताए ।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले एक स्थानीय तह र १३ वटा वडा जितेको छ । माओवादीले २ स्थानीय तहसहित २३ वटा वडा जितेको छ । एकीकृत समाजवादीले १ स्थानीय तह र १ वडा जितेको छ ।
१३ वटा वडा र १ स्थानीय तह जितेका कांग्रेसलाई ४ वटा स्थानीय तह दिँदासम्म नमानेर कांग्रेस सभापति तामाङ उठेर हिडेका थिए । अहिले तामाङले सबै वडा र स्थानीय तहको टिकट बाड्न थालेको बताए । उनले अब तालमेल नहुने र कांग्रेस एक्लै निर्वाचन लड्ने गरी टिकट बाँड्न थालेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij