
Jun 21 2025 | २०८२, असार ७ गते
ललितपुर – ललितपुरमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी एकदिने विस्तृत अध्ययन कार्यशाला गोष्ठी भएको छ । जलवायु परिवर्तनले कृषि र खाद्य सुरक्षामा परेको प्रभावको बारेमा सूचना संकलनको लागि उक्त कार्यक्रम गरिएको जनाएको छ ।
राष्ट्रिय योजना आयोग, प्रदेश निति तथा योजना आयोग र जिल्ला समन्वय समिति ललितपुरको समन्वय एवं संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको सहकार्यमा शुक्रबार ललितपुरमा कार्यशाला गोष्ठी भएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रतिनिधि कार्यालयका उपाध्यक्ष डा. कृष्ण राज पन्तले बाग्मती प्रदेशका १३ जिल्ला सो कार्यक्रम गर्ने योजना रहेको बताए । उनले कृषि उत्पादनका सामाग्रीको साथै व्यापारबाट आयआर्जन गरी जीविकोपार्जन गर्न सकिने भएकोले भूगोल र मौसमअनुसार कृषि उत्पादन गरी नागरिकको जीविकोपार्जनमा सहज गर्नु स्थानीय तहको भूमिका रहने बताए ।
प्रदेश प्रतिनिधि कार्यालयका उपाध्यक्ष डा कृष्ण राज पन्तले खाद्य सुरक्षा, जलवायु जोखिमबारे प्रकाश पारेका थिए । उनले खाद्य सुरक्षा, पोषणमा सुधार र दीगो कृषि प्रबर्द्धन जस्ता दीगो विकासका लक्ष्यहरू हासिल गर्न स्थानीय तहको सक्रियता आवश्यक रहेको बताए । उनले भवितव्य आइपर्ने बिपतको सामना गर्न र आफ्नो पालिकाको उत्पादन वृद्धिमा स्थानीय तहले नीति निर्माण गर्दा विशेष ध्यान दिन जरुरी रहेको बताए ।
कार्यशाला गोष्ठीमा संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम बागमती प्रदेशका संयोजक राजु क्षेत्रीले पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन अभ्यासको अवधारणासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले जलवायु परिवर्तनको असर र जीविकोपार्जनमा ल्याएको समस्याका बारेमा जानकारी गराएका थिए । उनका अनुसार अध्ययनको अपेक्षा तापक्रम र बर्षाको परिदृष्य निर्माण, भविष्यमा हुने जलवायु परिवर्तनको दृश्य, शुन्य भोकमरी प्राप्तिको लागि खाद्य सुरक्षा रणनीति तथा नीति निर्माणको लागि प्रमाण, खाद्य सुरक्षा विश्लेषणका लागि सूचनाको श्रोत र आर्थिक सर्वेक्षणको लागि उपयुक्त क्षेत्रको छनौट रहेको छ ।
सहभागीहरुले स्थानीयस्तरमा व्यावहारिक भाषा र जीवनशैलीको प्रयोगमार्फत् जलवायु परिवर्तन र खाद्य सुरक्षामा परेको असरका सूचना संकलनमा जोड दिएका थिए ।
गोष्ठीमा कृषि ज्ञान केन्द्रका प्रतिनिधि, जिल्लाको ६ वटै स्थानीय तहका कृषि शाखा प्रतिनिधि, ललितपुर माहानगरपालिकाका अध्यक्ष, उपाध्यक्ष , माहालक्ष्मी नगरपालिका प्रतिनिधि उपप्रमुख, ललितपुरका विभिन्न पालिकाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij