
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । लामो समयदेखि भारतबाट किनेर औद्योगिक क्षेत्रमा बिजुली वितरण गरेको नेपाल प्राधिकरणले अब भने ‘लोडसेडिङ’ सुरु गर्न थालेको छ । रुस–युक्रेन युद्धका कारण महँगिएको भारतीय ऊर्जा बजारबाट बिजुली किन्नका लागि नेपालले अन्य क्रेतासँग प्रतिस्पर्धा गर्न नसक्दा मंगलबार रातिदेखि उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको हो ।
बुधबार भारतबाट करिब १ घण्टा मात्रै बिजुली आएकोमा आज बिहीबार पनि ३ घण्टा मात्रै आपूर्ति हुने प्राधिकरणले जनाएको छ । वर्षायाममा नेपालभित्रै उत्पादित बिजुली खेर जाने भए पनि सुक्खायाममा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ । अहिले नेपालले अपुग बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) बाट किनिरहेको छ । आईईएक्सबाट बिजुली किन्दा हरेक दिन बोलकबोल प्रतिस्पर्धा गर्नुपर्छ । मंगलबार प्राधिकरणले ९ भारतीय रुपैयाँमा कबोलेकोमा आईईएक्समा बिजुलीको मूल्य प्रतियुनिट औसत ११.२३ भारु पुगेको थियो ।
त्यस्तै, बिहीबारका लागि बिजुली किन्न बुधबार भएको बोलकबोलबाट पनि प्राधिकरणले पर्याप्त बिजुली नपाउने भएको छ । ‘हामीले बिहीबारका लागि प्रतियुनिट औसत १२ भारुमा बिडिङ गरेका थियौं तर १५.२७ भारु पुग्यो,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने । बिहीबारका लागि नेपालले करिब ३ घण्टा मात्रै बिजुली पाउने भएको उनले बताए ।
भारतबाट महँगोमा बिजुली किनेर सस्तोमा बेच्नुपर्ने अवस्था अझै केही समय रहिरहे प्राधिकरण गम्भीर संकटमा पर्ने उनले बताए । ‘साता–दस दिनका लागि त महँगोमै ल्याएर भए पनि बिजुली दिन्छौं तर त्यसपछि धान्न सकिँदैन । कि त सरकारले हेर्नुपर्छ, कि त उद्योग नै बन्द गर्नुपर्छ,’ उनले भने । अहिले कुल १६ सय मेगावाट बराबर आन्तरिक विद्युत् माग रहेकोमा साढे ३ सय मेगावाट बिजुली अभाव भएको उनले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij