
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं/ नेपाल प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गाबाट १ जना, नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१ रिठ्ठेपानीबाट १ जना, सिरहा, सखुवानान्कार कट्टी गाउँपालिका-४ खैरवना चोकबाट १ जना गरी ३ जनालाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीले नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ४ सय एम्पुल डाईजेपाम, ४ सय एम्पुल फेनारगन र ४ सय एम्पुल नुर्फिन सहित पर्सा वीरगंज महानगरपालिका-२० बस्ने १७ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ। वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख ५०१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१ रिठ्ठेपानी बस्ने ४५ वर्षीया माया तिवारीलाई करिब ९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । रिठेपानीस्थित उनको तिवारी कटेजमा लागूऔषध गाँजा बिक्रीबितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तैगरी सिरहा, सखुवानान्कारकट्टी गाउँपालिका(४ खैरवना चोकबाट सोही गाउँपालिका(३ महदेवा बस्ने २६ वर्षीय उमेश महतोलाई नियन्त्रित लागूऔषध ८ एम्पुल डाईजेपाम, ७ एम्पुल नुर्फिन र ४ एम्पुल फेनारगन सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij