
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं / ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले‘ शुभकामना व्यक्त गरेका छन् । ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गरेका छन् ।
‘नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ ।
राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशितालाई सुनिश्चित गरेको छ। महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ,’ उनले भनेका छन् ।
महिला सशक्तीकरण हामी सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ-आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको उल्लेख गर्दै उनले देशको मूल कानूनले गरेका समस्त व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न हामी सबै प्रतिबद्ध हुन आवश्यक रहेकामा जोड दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij