
Jun 22 2025 | २०८२, असार ८ गते
उनले भने ‘आजदेखि हामीले सुरुवात गरेका छौँ । यसमा निरन्तर लागेर महानगर क्षेत्रलाई नो स्मोकिङ् जोन बनाउँछौँ र समग्र महानगरलाई स्मार्ट सिटी बनाउँछौँ ।’
ललितपुर । ललितपुर महानगर पालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जनले महानगरलालाई ‘नो स्मोकिङ् जोन बनाउने’ घोषणा गरेका छन् । शुक्रबार (आज) पाटन दरबार स्क्वायरमा नगर प्रहरी, ललितपुरको आयोजनामा जाउलाखेल, पुल्चोक र पाटन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गर्ने कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख महर्जनले सोे घोषणा गरेका हुन् ।
महानगरमा आफ्नो कार्यकालमा आफूले विभिन्न खालका स्वास्थ्य सम्बन्धित कार्यक्रम गरेको बताउँदै आगमी दिनमा पनि निरन्तर रुपमा लाग्ने प्रतिवद्धतासमेत उनले गरेका छन् । उनले भने ‘आजदेखि हामीले सुरुवात गरेका छौँ । यसमा निरन्तर लागेर महानगर क्षेत्रलाई नो स्मोकिङ् जोन बनाउँछौँ र समग्र महानगरलाई स्मार्ट सिटी बनाउँछौँ ।’
आफूले आफ्नो कार्यकालमा अझ धेरैँ राम्रा कामहरु गर्ने भएकोले त्यसलाई हेर्नको लागि पनि सबैले धुम्रपान छाडेर लामो समयसम्म बाच्ने वातवरण बनाउनुपर्ने समेत उनको भनाइ रहेको थियो । उनले भने,‘म धुम्रपान गर्दिनँ यसअर्थ म धेरै बाच्छु । त्यसैले तपाईँ पनि धुम्रपान नगरि धेरै बाँच्नुस् । हामीले विभिन्न नयाँ कामहरु गर्न बाँकी छ त्यो तपाईँले हेर्नुपर्छ ।’
‘धुम्रपान नगरौँ स्वस्थ रहौँ’ भन्ने नाराका साथ गरिएको सो कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष, प्रहरी प्रमुख, पत्रकारलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन सरोज घिमिरेले गरेका थिए ।
धुम्रपान र यसको असरको बारेमा बोल्दै कार्यक्रमका प्रमुख वक्ता अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा.आशिष ढुङ्गानाले धुम्रपानले १३ किसिमका क्यान्सर रोग उत्पन्न गराउने बताएका छन् । सार्वजनिक स्थानमा धुम्रपानमा प्रतिबन्ध लगाउनु पर्ने तथा बालबालिकालाई यसको पहुँचबाट टाढै राख्नुपर्नेमा जोड दिन उनले सम्बन्धित सबैलाई अनुरोध समेत गरेका छन् । धुम्रपानले स्वयम् व्यक्तिलाई मात्र नभएर उसको वरपरका मानिसलाई समेत रोगी बनाउने बताउँदै उनले भने, ‘संसारमा धुम्रपानका कारण हुने ८० लाख मानिसको मृत्युमध्ये ७० लाखको स्वयम् धुम्रपान गर्नाले हुन्छ भने बाँकी १० लाख मानिसको मृत्यु धुप्रपान गर्नेको आसपास बस्नाले या धुवासँग नजिक हुनाले हुन्छ । त्यसैले यसलाई रोक्न जरुरी छ ।’
यस्तै, कार्यक्रमको आयोजक नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुका अनुसार आज घोषण गरिएका तीनै निषेधित क्षेत्रमा पाँच जना नगर प्रहरी तैनाथ गरिनेछ । सुरुमा परामर्श तथा सल्लाह दिइने योजना रहेको छ । यदी एउटैले पटक–पटक नियम नमानेमा प्रतिव्यक्ति सय रुपौयाँका दरले जरिवाना तिराइने तथा अन्य सजायको समेत प्रवन्ध गरिने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij