Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । मृगौलाले शरीरबाट विषाक्त पदार्थ निकाल्ने काम गर्छ । मृगौलाले विषाक्त पदार्थलाई मूत्रनलीमा पठाउने गर्छ जहाँ पिसाबमार्फत् यो शरीरबाट बाहिर निस्कने गर्दछ । जब मृगौला फेल हुन्छ तब यो विषाक्त पदार्थलाई सही तरिकाले रगतबाट फिल्टर गर्न सक्दैन र शरीर विषाक्त पदार्थले भरिने गर्छ । यसो हुँदा किड्नी फेल हुन सक्छ र गम्भीर स्थितीमा ज्यान जाने खतरा पनि हुनसक्छ ।
किड्नी फेल हुँदाको लक्षणः
पिसाब कम हुनु, खुट्टा वा जोर्नी सुन्निनु, सास फेर्न समस्या हुनु, असाध्यै थकाई लाग्नु, बान्ता आउला जस्तो हुनु, छाती दुख्नु वा बेहोस हुनु किड्नी फेल हुनुको प्रमुख लक्षण हुन् । यद्यपि, कहिलेकाँही कुनै लक्षण बिना पनि मृगौला फेल हुन्छ ।
किड्नी फेल हुनुका कारणः
किड्नी फेल हुनुका विभिन्न कारण छन् जस्तै कुनै रोगका कारण पिसाब कम हुनु, हृदयघात, मुटुको रोग, केलजो फेल हुनु, प्रदुषण, केही औषधी, क्रोनिक डिजीज, कम पानी पिउँदा, किड्नी ट्रमा, एलर्जीको प्रतिक्रिया, गम्भीर संक्रमणर उच्च रक्तचाप ।
रोगका कारण मृगौला फेलः
मृगौलामा पत्थरी, प्रोस्टेट ग्रन्थी बढ्दा, पिसाब नलीमा रगत जम्दा, पिसाब थैलीलाई नियन्त्रण गर्ने नसा कमजोर हुँदा, मृगौला वरिपरि रगत जम्दा, शरीरमा आवश्यकताभन्दा बढी विषाक्त पदार्थ हुँदा, अनियन्त्रित मधुमेह, लागुऔषध र रक्सीका कारण पनि मृगौला फेल हुन्छ ।
मृगौला फेल हुनुका चरणः
मृगौला फेल हुनुका पाँच चरण हुन्छन् । पहिलो स्टेजमा त यो निकै साधारण हुन्छ र यसको कुनै लक्षण देखिँदैन । पहिलो स्टेजमा नै मृगौलामा समस्या देखिएको छ भने स्वस्थ जीवनशैली, सन्तुलित भोजन, नियमित व्यायाम र तौल कम गर्दा यसलाई ठिक पार्न सकिन्छ । यदि तपाईंलाई मधुमेह छ भने आफ्नो ब्लड सुगर नियन्त्रणमा राख्नुहोस् ।
दोस्रो चरणमा पनि मृगौला रोगको लक्षण हल्का नै हुन्छन् तर यो स्टेजमा पिसाबमा प्रोटिन वा कुनै प्रकारको शारीरिक क्षतिबारे स्पष्ट रुपमा थाहा हुन्छ । यो चरणमा पनि स्वस्थ जीवनशैली काम लाग्न सक्छ । लापरवाही गर्दा यो चरणमा मुटु रोग, सुन्निने वा रक्त विकार पनि हुनसक्छ ।
तेस्रो चरणमा मृगौलाको रोगको मध्यम लक्षण देखिन थाल्छ । मृगौलाले राम्रोसँग काम गर्दैन । रगत परीक्षण गरेपछि यसबारे पत्ता लाग्न सक्छ । यो चरणमा हात खुट्टा सुन्निने, पिठ्यूँ दुख्ने र पिसाबको रङमा परिवर्तन देख्न थालिन्छ । जीवनशैलीमा परिवर्तनका साथै डाक्टरलाई पनि सम्पर्क गर्नुहोस् ।
चौथो चरणमा किड्नी फेलको संकेत थोरै गम्भीर हुने गर्छ । यो चरणमा मृगौला पूर्ण रुपमा फेल त हुँदैन तर यसले राम्रोसँग काम गर्न बन्द गरिदिन्छ । यो स्थितीमा रक्त अल्पत्ता, उच्च रक्तचाप र हड्डी रोगजस्ता समस्या हुन थाल्छ । यो चरणमा डाक्टरसँग सम्पर्क गरेर औषधी लिन सुरु गर्नुपर्छ ।
पाँचौ चरणमा मृगौला पूर्ण रुपमा फेल हुने गर्छ । मृगौलाले काम गर्न बन्द गरेपछि असाध्यै समस्या देखिने गर्छ । यसमा तपाईंलाई बान्ता आउने, सास फेर्न समस्या हुन्छ, छाला चिलाउने र अन्य थुप्रै लक्षण देखिन थाल्छ । यस्तो स्थितीमा नियमित डायलायसिस वा किड्नी ट्रान्सप्लान्टको आवश्यकता पर्छ ।
बचाउका उपायः
उच्च रक्तचाप र मधुमेहबाट बचाउ, स्वस्थ जीवनशैली र डाक्टरले बताएको औषधी नियमित रुपमा सेवन गर्दा पनि किड्नी फेलको स्थितीबाट बच्न सकिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij