
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजिन लिगमा सातदोबाटो युथ क्लबले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्री भगवती क्लबमाथि १–० गोल अन्तरले जित निकाल्दै सातदोबाटो युथ क्लबले अपराजित यात्रा कायम राखेको हो ।
सातदोबाटोका लागि दोर्जे तामाङको गोल नै निर्णायक बनेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भगवतीका खेलाडीले विपक्षीको बल रोक्ने क्रममा पेनाल्टी क्षेत्रमा ह्यान्ड भएपछि सातदोबाटोलाई पेनाल्टी अवसर मिलेको थियो । दोर्जेले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीको अपराजित यात्रालाई निरन्तरता दिएका हुन् । जितपछि सातदोबाटोको ८ खेलबाट २२ अंक जोडेको छ । पराजित भगवतीको ८ खेलबाट ६ अंक भएको छ ।
लिग अन्तर्गत सोमवारकै अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले पनि टुसाल युथ क्लबमाथि १–० गोलको जित निकालेको छ । एन्फा कम्प्लेक्सकै मैदानमा सम्पन्न पहिलो खेलमा आरसिटीलाई हराउँन ७३औं मिनेटमा अजित गुरुङले गरेको गोल निर्णायक बनेको थियो ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबै टोलीले केही राम्रा अवसरहरु सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए । रोमाञ्चक जित निकालेको आरसिटी लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । आरसिटीको ८ खेलबाट १२ अंक भएको छ । उता पराजित टुसालको समान ८ खेलबाट ८ अंक नै छ । टुसाल सातौं स्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij