Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मंगलबार पहिलो पटक भारतको मध्यप्रदेशस्थित राजा भोज अन्तरराष्ट्रिय विमानस्थलमा ‘मेडिकल रेस्क्यु’ उडान भएको छ।
श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा पोखराबाट भारतका लागि उडान भरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता जशोदा रेग्मी सुवेदीले जानकारी दिए।
मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका मध्यप्रदेशस्थित भोपालका शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टरमार्फत पोखराबाट स्वदेश लगिएको हो ।
विमानमा एक जना बिरामी, तीन जना स्वास्थ्यकर्मी र दुई जना बिरामीका आफन्त गरी ६ जना रहेको पोखरा विमानस्थलले जनाएको छ । “पोखराबाट पहिलो पटक भारत सिधा उडान भएको छ । स्वदेशी विमान कम्पनीले छिमेकी मुलुक उडान गर्नु विमानस्थलका लागि राम्रो कुरा हो,” प्रवक्ता रेग्मीले भने ।
पोखराको नागढुङ्गास्थित चरक मेमोरियल अस्पतालमा उपचार गराइरहनुभएका श्रीवास्तवलाई थप उपचारका लागि परिवारले जहाज चार्टर गरेर स्वदेश लगेका हुन् ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिनदेखि शुभारम्भ गरिएका यहाँबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल आन्तरिक उडानमै सीमित बनेको छ ।
पोखरा विमानस्थलबाट यसअघि भुटान, चीनलगायका देशमा चार्टर उडान हुने गरेपनि भारतमा पहिलो पटक उडान भएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij