Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूहरूको मार्गदर्शन सिद्धान्त भनेकै वित्तीय सुशासन रहेको बताएका छन् । शुक्रबार ऊर्जामन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले ठोस निर्णय नगरे पनि मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाह आफ्नो प्राथमिकता रहेको बताए ।
ऊर्जा मन्त्रालय तथा मातहत संस्थाहरूका प्रमुखसँग छलफल गरेका श्रेष्ठले सामान्य बैठकहरूको पनि लेखापरीक्षण गरिनुपर्ने बताए । ‘मन्त्रालय र मातहतका संस्थाहरूबाट के कस्ता काम भइरहेका छन् र कसरी आगामी दिनमा काम हुनेछ भन्ने आउटलाइनको हिसाब मात्र निवेदन गरेँ,’ मन्त्री श्रेष्ठले भने, ‘विस्तृत विभाग अन्तर्गतका छलफलमा जाउँला, जति पनि जटिलताहरू छन्, कहाँ अड्केको छ, केले गर्दा अप्ठ्यारो भएको छ भन्ने विषय खोज्ने हामीले नै हो ।’
दशकौं पुराना सिँचाइका योजनाहरू कार्यान्वयन हुन नसकेको अवस्था रहेको श्रेष्ठले बताए । ‘ती आयोजनालाई समयमा गुणस्तरीय तवरबाट निर्माण गर्नुपर्ने मुख्य चुनौती छ’ उनले भने । मधेशमा बढ्दो मरभूमि चुनौतीलाई प्रभावकारी समाधान गर्नुपर्ने उनले बताए ।
बारा, पर्सा जिल्लामा अहिले पनि सुक्खायाममा पालिकाहरूले ट्याङ्करबाट पानी खुवाउनु परिरहेको अवस्था रहेको सुनाउँदै मन्त्री श्रेष्ठले भने, ‘यो समस्यामा पनि एकपटक हामी गहन छलफल गरेर काम गर्नु पर्नेछ ।
शुक्रबार मन्त्रालयमा जम्मा भएका विभिन्न अधिकारीहरूलाई सामूहिक भावनामा जोड दिन सुझाए । मन्त्रालय तथा मातहतका संस्थाका पदाधिकारीको भावनालाई सकारात्मक सदुपयोग गरियो भने देशको हितमा काम हुने उनको भनाइ छ । ऊर्जा मन्त्रालयको महत्त्वलाई बुझेर सापेक्ष नीति तथा कार्यक्रमहरूमा काम गर्ने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij