Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सागर ढकालले आफ्नो निर्वाचन आय-व्ययको विवरण सार्वजनिक गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेर विजयी भएका ढकालले सामाजिक सञ्जालमार्फत चुनावी अभियानमा भएको आम्दानी र खर्चको विस्तृत जानकारी सार्वजनिक गरेका हुन् ।
ढकालले निर्वाचनको क्रममा आफूलाई प्राप्त सहयोग र खर्च पारदर्शी रूपमा सार्वजनिक गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् । ‘निर्वाचनको बेला यहाँहरूले म प्रति देखाउनुभएको अभूतपूर्व विश्वास, माया र सहयोगका लागि म पुनः हार्दिक कृतज्ञता व्यक्त गर्दछु’ उनले उल्लेख गरेका छन् ।
उनका अनुसार चुनावी अभियानका लागि कुल २२ लाख १ हजार ४ सय रुपैयाँ सहयोग प्राप्त भएको थियो । सोही अवधिमा उनले १९ लाख १८ हजार १ सय ८२ रुपैयाँ खर्च गरेका छन् । खर्च कटाएर २ लाख ८३ हजार २ सय १८ रुपैयाँ बचत भएको उनले जनाएका छन् । ढकालले चुनावी अभियानमा बचत भएको उक्त रकम व्यक्तिगत प्रयोजनमा नलगाई सामाजिक तथा रचनात्मक काममा प्रयोग गर्ने घोषणा गरेका छन्।
‘‘चुनावी अभियानमा संकलन भई खर्च गरेर बाँकी रहेको रकम पूर्ण रूपमा गुल्मीको विकास र देशको उन्नतिका लागि गरिने विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरूमा प्रयोग गर्नेछौँ’ उनले बताए ।
उनले मतदाता र सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आफूलाई दिएको मत र विश्वासलाई सम्मान गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । धेरै उम्मेदवारले आयव्यय विवरण सार्वजनिक गर्ने अभ्यास न्यून देखिएको र रकम खर्च भएको मात्रै देखाउने अवस्थामा ढकालले आम्दानी र खर्च राखेर पारदर्शितातर्फको प्रयासका रूपमा हेरिएको भन्दै उनका समर्थकहरुले स्वागत गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij