Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । बिहीबार सम्पन्न निर्वाचनको परिणामले नेपाली राजनीतिको दिशा नै परिवर्तन गरिदिएको निष्कर्ष निकाल्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टीको गम्भीर समीक्षा र समग्र पुनर्गठन गर्ने घोषणा गरेको छ ।
उन्नत विचारसहितको विकल्पु भन्ने नारा बोकेको सो पार्टीले निकट भविष्यमै आयोजना हुने समीक्षा र पुनर्गठन प्रक्रियामा सहभागी नभई व्यक्तिगत रूपमा कुनै पनि नयाँ राजनीतिक कदम नचाल्न आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीका अध्यक्ष सन्तोष परियारले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक अवस्थाको विश्लेषणसहित पुनर्गठनको जानकारी गराएका हुन् । विज्ञप्तिमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा अत्यधिक मत ल्याएर सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै उक्त जनमतको राष्ट्र र जनताको पक्षमा अविस्मरणीय सदुपयोग हुने विश्वाससहित शुभकामना व्यक्त गरिएको छ ।
प्रलोपाले एकातिर पुराना र स्थापित दलहरू विघटनको अवस्थामा पुगेको र अर्कोतिर नयाँ दलहरूले जनतामाझ आफ्ना एजेन्डा राम्ररी स्थापित गर्न नपाउँदै निर्वाचनमा होमिनुपरेको यथार्थ औंल्याएको छ। गत मंसिर ७ गते मात्र पार्टी घोषणा गरेर पुस १ र २ गतेको प्रथम विस्तारित बैठकबाट संगठन निर्माण सुरु गरेको प्रलोपाले छोटो समयमै निर्वाचनमा भाग लिएको थियो । आफ्नो हारजितभन्दा पनि संविधान, लोकतान्त्रिक अभ्यास र वर्तमान राजनीतिक व्यवस्थाप्रतिको प्रतिबद्धताकै कारण आफूहरू चुनावमा सहभागी भएको र समय अभावले सांगठानिक तथा निर्वाचन तयारीमा आफ्ना कमीकमजोरी रहेको पार्टीले स्वीकार गरेको छ ।
कमजोरीका बाबजुद, प्रगतिशील लोकतान्त्रिक पार्टी जुन विचार, सिद्धान्त र कार्यक्रमका आधारमा निर्माण भएको थियो त्यसको महत्त्व र औचित्यलाई पछिल्लो राजनीतिक परिवर्तनले झन् प्रमाणित गरिदिएको अध्यक्ष परियारको दाबी छ ।
इतिहासको अनुभव, वर्तमानको ठोस बुझाइ र भविष्यको वस्तुगत विश्लेषणका साथ निर्माण गरिएको प्रलोपाको आवश्यकता आगामी दिनमा अझ बढ्ने विश्वास पार्टीले लिएको छ । यही वस्तुगत परिस्थितिलाई मध्यनजर गर्दै पार्टी अब जबर्जस्त रूपमा समग्र पुनर्गठनको प्रक्रियामा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij