Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । राजधानीको तारकेश्वर नगरपालिका मा एक व्यक्तिको डेराबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ ।
तारकेश्वर नगरपालिका–१० स्थित छन्त्याल चोकमा डेरा गरी बस्ने लिला परियार को कोठामा बुधबार दिउँसो चोरी भएको हो । लम्जुङ घर भएकी परियारको कोठाबाट नगदसहित सुनको सिक्री १ थान र सुनको मुन्द्रा १ जोडी चोरी भएको प्रहरीले जनाएको छ ।
पीडितका अनुसार चोरी भएको नगद र सुनका गरगहनाको बजार मूल्य करिब ५ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ । परिवारका सदस्यहरू बाहिर गएको मौका छोपेर चोरले कोठामा प्रवेश गरी धनमाल हात पारेको बताइएको छ ।
घटना लगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ । चोरीमा संलग्न व्यक्ति अहिले फरार रहेका कारण उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij