Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

प्रविधिको दुरुपयोग नियन्त्रणको प्रयास

नेपाल प्रहरीको ‘एआई सेल’

नेपाल प्रहरीको ‘एआई सेल’

  • काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले प्रविधिको दुरुपयोग नियन्त्रण गर्न 'एआई तथा एडभान्स एनालेटिक सेल' गठन गर्न लागेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको दुरुपयोग गरी झुटा सामग्री प्रसारण गर्ने क्रम बढेकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानुनी उपचार खोज्न यो नयाँ संयन्त्र आवश्यक भएको उल्लेख गरे।

    onlinepatrika
    Arghakhachi

    आजको डिजिटल युगमा सबैभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण गलत सूचना (मिस-इन्फर्मेसन) र नियतवश फैलाइने भ्रामक सूचना (डिस-इन्फर्मेसन) साझा चिन्ताको विषय बनेको उनको भनाइ छ।

    AGNI GROUP

    महानिरीक्षक कार्कीले एआईको दुरुपयोग, हेट स्पिच र डिजिटल म्यानुपुलेसनबाट सिर्जित झुटा सामग्रीले समाजमा नकारात्मक असर पारिरहेकाले यसलाई रोक्न नेपाल प्रहरी र सञ्चारकर्मीहरूले बलियो सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए। राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूले आफ्नो धर्मका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उनले कपी-पेस्टको यान्त्रिकताले सिर्जनशीलता समाप्त पार्ने र कानुनी शासनको आधारलाई कमजोर बनाउने चेतावनी दिए। उनले प्रविधिको माध्यमबाट हुने अपराधको सूक्ष्म विश्लेषण गर्नका लागि एआई सेल बनाउने निष्कर्षमा प्रहरी पुगिसकेको जानकारी दिए।

    अपराध अनुसन्धान भइरहेका संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा अनुसन्धानमा नकारात्मक प्रभाव नपर्ने गरी सचेत हुन पनि उनले सञ्चार माध्यमहरूलाई आग्रह गरे। राष्ट्रिय सुरक्षा र सामाजिक सद्भाव खल्बल्याउने गरी हुने डिजिटल गतिविधिहरूमाथि अब प्रहरीले विशेष सेल मार्फत कडा निगरानी राख्ने उनले स्पष्ट पारे। सञ्चारकर्मी र सुरक्षा निकायबीचको समन्वयले मात्रै प्रविधिजन्य अपराध र भ्रामक सूचनाको चुनौतीलाई चिर्न सकिने उनको ठम्याइ छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij