Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने बताए ।
सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको उनको भनाइ छ । नेकपाले विगतमा आफ्नो तर्फबाट भएका कमजोरीको समीक्षा गरी अब ती कमजोरी सच्याउँदै रुपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिइसकेको उनले बताए ।
"सबै राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर विगतमा के कमजोरी भए भन्ने कुराको मूल्यांकन गर्न जरुरी छ । हामी त्यो निष्कर्षमा पुग्यौँ र हाम्रो भागमा परेको कमजोरीको समीक्षा पनि गर्यौँ," प्रचण्डले भने, "हामी संकल्प लियौँ कि ती कमीहरू अब सच्याउनुपर्छ र रुपान्तरित हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ ।"
मुलुकले सामना गरिरहेको परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधिनतालाई मजबुत बनाउने उद्देश्यसहित पार्टी एकता प्रक्रियालाई अगाडि बढाइएको प्रचण्डले बताए । मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै नेकपा सोहीअनुरुप अघि बढ्ने उनको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij