Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । विश्वभर ८५ भन्दा बढी देशमा विस्तार भई करिब ६ लाख ५० हजार सदस्यमार्फत बाल–केन्द्रित सेवा कार्य सञ्चालन गर्दै आएको किवानीस इन्टरनेशनलका वरिष्ठ नेता मोहन लम्सालले संस्थाको उपाध्यक्ष (Vice President) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन् ।
किवानीसले विश्वका समुदायहरूमा बाल स्वास्थ्य, शिक्षा, पोषण, खानेपानी, सुरक्षात्मक सामग्री वितरणदेखि लिएर आपतकालीन राहतसम्मका परियोजना सञ्चालन गर्दै आएको छ । यसबारे जानकारी किवानीस क्लब अफ कृति काठमाडौंका अध्यक्ष बद्री सिग्देलले दिनुभएको हो । उम्मेदवारी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै लम्सालले “Together for Children – Growing Kiwanis for a Brighter Tomorrow” भन्ने आफ्नो दृष्टि प्रस्तुत गरे ।
उनले सेवा कार्यलाई विश्वव्यापी रूपमा विस्तार गर्दै किवानीसलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार विश्वका क्लबहरूको क्षमता वृद्धि, महिलाहरूको नेतृत्व सहभागीता, युवा सदस्य विस्तार, र प्रविधिमा आधारित काम गर्ने प्रणाली विकास किवानीसको आगामी सफलताका आधार बन्नेछन् ।
लम्सालले नेपाल किवानीसको सम्भावनाबारे उल्लेख गर्दै अन्तर्राष्ट्रिय अनुदान (Global Grants) तथा Matching Grants मार्फत नेपालमा शिक्षा, MHM, बाल स्वास्थ्य, पोषण, तथा आपतकालीन राहत परियोजनाहरूलाई थप प्रभावकारी बनाइने बताए । उनका अनुसार नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन र नेतृत्व तालिम आयोजना गर्न सकिने सम्भावनाले पर्यटन, स्थानीय अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय पहिचानमा समेत सकारात्मक प्रभाव पार्नेछ ।
मोहन लम्सालको उम्मेदवारीको अन्तिम प्रस्तुति आगामी जुन २४ देखि २७, २०२५ मा फिलिपिन्सको मनीलामा आयोजना हुने किवानीस इन्टरनेशनल सम्मेलनमा हुने छ । उनले किवानीसको एकता, सेवा–प्रतिबद्धता र बाल–केन्द्रित मान्यतालाई विश्वभर अझ सुदृढ बनाउँदै उज्ज्वल भविष्य सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij