
Aug 07 2025 | २०८२, साउन २२ गते
काठमाडौं । अमेरिका र भारतबीच बढ्दो तनाव र रुसबारे बढ्दो कडा अभिव्यक्तिका बीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रुस पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी र तीखो टिप्पणीका बिचमा डोभालको रूस भ्रमणको महत्व अहिले रणनीतिक र राजनीतिक बन्न पुगेको छ ।
उनको यो भ्रमण यस्तो समयमा भइरहेको छ, जब डोनाल्ड ट्रम्पले रुसी तेल र रक्षा उपकरण खरिदलाई लिएर भारतमाथि खुलेर हमला गरिरहेका छन् । अब प्रश्न उठ्छ कि ट्रम्पले युक्रेन युद्धका सम्बन्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिइरहेका र रुसबाट टाढा हुन भारतलाई दबाब दिइरहेका बेला भारतका सुरक्षा सल्लाहकार डोभाल मस्को जानु संयोग मात्र हो कि रणनीतिक जवाफ ?
स्रोतलाई विश्वास गर्ने हो भने डोभालको यात्रामा धेरै तह छन् । एकातिर भारत र रुसबीच रक्षा सहयोग र ऊर्जा सुरक्षामा गहिरो वार्ता हुने भएको छ भने अर्कोतर्फ भारतले कुनै पनि विश्वव्यापी दबाबमा आफ्नो रणनीतिक स्वार्थसँग सम्झौता नगर्ने सन्देश पनि स्पष्ट छ ।
भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् कि डोभालले शीर्ष रूसी सुरक्षा अधिकारीहरूसँग बन्द ढोका बैठक गर्नेछन्, जहाँ क्षेत्रीय स्थायित्व, आतंकवाद विरोधी सहयोग र ऊर्जा आपूर्तिमा छलफल हुनेछ। यी उही मुद्दाहरू हुन्, जसमा अमेरिकाले भारतलाई सन्तुलनमा राखेको छ ।
तर, भारतले बारम्बार स्पष्ट गरिसकेको छ कि उसको ऊर्जा आवश्यकता र विदेश नीति उसको राष्ट्रिय हितबाट संचालित हुन्छ, पश्चिमी दबाबले होइन। तर, रूसमा डोभाल पुगे पछि उता ट्रम्पले पनि आफ्ना दुत मस्को पठाउने भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij