
Apr 28 2025 | २०८२, वैशाख १५ गते
उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अधिराज्यबिच सदियौँ देखि रहिआएको घनिष्ठ सम्बन्धको चर्चा
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रोबर्ट डोंमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
काठमाडौँको लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको शिष्टाचार भेटमा शुभकामना आदान प्रदान पश्चात द्विपक्षी सम्बन्धका विविध आयामका विषयमा महत्त्वपूर्ण संवाद भएको छ ।
उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अधिराज्यबिच सदियौँ देखि रहिआएको घनिष्ठ सम्बन्धको चर्चा गर्दै सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको बताउनुभयो । नेपाल र संयुक्त अधिराज्य बिच भएको शान्ति तथा मैत्री सन्धिको १००औं वर्षगाँठ सन् २०२३ मा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको उहाँले स्मरण गर्नुभयो ।
उहाँले संयुक्त अधिराज्यलाई नेपालको प्रमुख विकास साझेदारको रूपमा उल्लेख गर्नुहुँदै विपद्का घडीमा नेपाललाई प्रदान गरिएको सहयोगका लागि धन्यवाद दिनुभयो । ‘‘हाम्रा दुई मुलुकबिच राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा रहेको मित्रता अद्वितीय छ,पछिल्ला दिनहरुमा यो थप प्रगाढ हुँदै गएको छ ।,’’उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘ब्रिटिस गोर्खाले द्विपक्षीय जनस्तरको सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको सराहना गर्दछु ।’’
उपराष्ट्रपति यादवले महामहिम राजदूतमार्फत संयुक्त अधिराज्यका राजा चाल्र्स र महारानी क्यामिलालाई व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना सन्देश प्रेषित गरिदिन आग्रह गर्नुभयो ।
नेपालका लागि संयुक्त अधिराज्यका महामहिम राजदूत रोबर्ट डोंमिनिक रुसेल फेनले नेपाल र संयुक्त अधिराज्यसँगसँगै काम गर्ने घनिष्ट मित्र रहेको उल्लेख गर्दै नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’लाई बेलायतको सहयोग रहने बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij