
Apr 28 2025 | २०८२, वैशाख १५ गते
वरिष्ठ कलाकार श्रेष्ठ र आचार्यको दोस्ती र सहकार्यले ४५ वसन्त पार
काठमाडौं । ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टीभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित हुन् । मह जोडीका रुपमा उनीहरूको सहकार्यले वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ । करिब आधा शताब्दी सम्म निरन्तर रुपमा जोडी बनेर दर्शकको मन जित्नसक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उनीहरू दुईको इमान्दारिताको उदाहरण हो ।
यो ४५ वर्षको सहकार्यमा मह जोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाए । तर, जति लाभ हुन्छ, त्यति नै लोभ बढ्ने सम्भावना पनि हुन्छ । यसको प्रभाव पनि यो जोडीले हाबी हुन् दिएनन् । फलतः सहकार्यको झण्डै आधा दशक कलासाधनामा समर्पित भई दर्शकसहित आम नेपालीको मन जित्न मह जोडी सफल भएको देखिन्छ ।
गत वर्षमात्र मह जोडीले विदेश र नेपालमा ‘मह जात्रा’ गरेका थिएँ । आउँदो समयमा पनि सँगै काम गरी सहकार्यलाई निरन्तरता दिने पक्षमा उनीहरु छन् । छोटो समयमा नाता–सम्बन्ध टुट्ने अहिलेको जमानामा वरिष्ठ कलाकार श्रेष्ठ र आचार्यको दोस्ती र सहकार्यले ४५ वसन्त पार गर्नु एकअर्काप्रतिको इमान्दारिता र सम्मान नै हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij