
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । राष्ट्र बैंकले ऋण दुरुपयोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई पत्राचार गरेको छ ।
प्रसाईँमाथि होटल, अस्पताल तथा विभिन्न व्यवसायका नाममा लिएको अर्बौँ ऋण दुरूपयोग गरेको भन्दै बैंकिङ कसुर अन्तर्गत अनुसन्धान अघि बढाउन राष्ट्र बैंकले पत्राचार गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीमा बैकिङ कसुर सम्बन्धि उजुरी परेपछि उनीविरूद्ध अर्को पक्राउ पुर्जी पनि जारी भएको छ । प्रसाईँ हाल राजद्रोह लगायतका कसुरमा प्रहरीको हिरासतमै छन् ।
प्रहरी हिरासतमै रहेका प्रसाईँमाथि अब सिआइबीले पनि अनुसन्धान अघी बढाउने प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए । ‘हिरासतमा रहेका प्रसाईँमाथि बैंकिङ कसुरमा हामीले पनि अनुसन्धान थालेका छौँ,’ उनले भने ।
चैत १५ मा उनकै नेतृत्वमा तीनकुनेमा भएको आन्दोलन हिंसात्मक भएपछि प्रसाईँ भारत फरार भएका थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा असामबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई विशेष ब्युरोको टोलीले चैत २९ गते नेपाल ल्याएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij