Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

सेकार्कु तातोपानीलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण

सेकार्कु तातोपानीलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण

  • काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ सेकार्कुस्थित तातोपानी कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको छ ।

    पहाडको फेद र कालीगण्डकी नदीको किनारमा रहेको मुहानबाट निस्कने पानीलाई पोखरीमा सङकलन गरेर स्नानको व्यवस्था मिलाउने र पर्यटक भित्र्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले रू एक करोड १७ लाखको लागतमा पूर्वाधार निर्माण थालेको हो । अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष दिलीप गर्बुजाले तातोपानी पानी सङेकलन गर्ने पोखरी, आश्रयस्थल, सार्वजनिक शौचालय, कपडा फेर्न कोठा, टिकट काउन्टर र रेष्टुराँका लागि आवश्यक पूर्वाधार तयार पार्न लागिएको जानकारी दिनुभयो ।

    कालीगण्डकी किनारको तातोपानी व्यवस्थित नहुँदा हाल हिउँद याममा मात्र खुला ठाउँमा स्नान गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “बेनी–जोमसोम सडकको नजिकै निर्माण हुन लागेको पोखरी सञ्चालन गरेर आम्दानीको स्रोत बनाउने लक्ष्य छ । सेकार्कुमा ५० डिग्री सेल्सियस प्राकृतिक तातोपानी निस्कने मुहान रहेको छ । तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा शारीरिक स्फूर्तिका साथै चोटपटक लागेको, चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

    मुहानदेखि छ सय मिटर तल दुई इञ्चको युपिभिसी पाइपबाट ल्याइने तातोपानी सङ्कलन गरेर स्नानका लागि ११ दशमलव २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ भएको पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको विशेष अनुदानमा सेकार्कु तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि २०८१ असार ३ गते कालीगण्डकी निर्माण सेवा प्रालिसँग रू एक करोड १७ लाख ६० हजार छ सय ८५ मा ठेक्का सम्झौता भएको थियो ।

    विसं २०८२ जेठ ३० गतेसम्म म्याद रहेको ठेक्कामार्फत पोखरी र परिसरमा भौतिक संरचना निर्माण गर्ने काम ७० प्रतिशत सकिएको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर करिम मुल्लाह मियाले बताउनुभयो । ठेकेदारले तातोपानी सङ्कलनका लागि मुहानमा तीन वटा इन्टेक र पाइपलाइन जडानको तयारी गरेको छ । तातोपानीको मुहानसम्म पुग्ने सडक बनाउन धेरै खर्च लाग्ने र बर्खामा बाढीले असर पु¥याउने भएकाले केही तल संरचना बनाउन लागिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij