
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । भेरीगंगा नगरपालिकामा निर्माणाधीन दलित संग्रहालयको भवन बजेट अभावमा अलपत्र परेको छ ।
भवन निर्माणको काम ८५ प्रतिशत सकिए पनि बजेट अभावमा १५ प्रतिशत काम बाँकी रहेको भेरीगंगा नगरपालिकाका सव–इन्जिनियर गणेश कार्कीले बताए । चालू आर्थिक वर्षमा सरकारले बजेट विनियोजन नगरेको तथा यसअघि गरेको कामको समेत भुक्तानी दिन नसक्दा काम अघि बढाउन नसकिएको उनको भनाई छ ।
भवन निर्माणको बाँकी काम अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंग रकम माग गरिए पनि सुुनुुवाइ नभएको सब इन्जियर कार्कीले बताए । ‘निर्माण कम्पनीले हालसम्म साढे २ करोड बराबरको काम गरिसकेको छ’ उनले भने, ‘अहिलेसम्म करिब १ करोड मात्र भुक्तानी पाएको छ । यसअघि नै गरेको कामको भुक्तानी नहुँदा अहिले अन्य काम ठप्प भएको हो ।’
दलित समुदायको कला, संस्कृति, परम्परागत रीतिरिवाज झल्काउने उद्देश्यले संग्रहालय निर्माणको काम थालिएको भेरीगंगा नगरपालिकाले जनाएको छ । उक्त संग्रहालयबाट दलित समुदायको बारेमा अध्ययन, अनुसन्धान गर्न र उनीहरूको सीपबाट थप उद्यम सिर्जना गर्न सकिने लक्ष्य राखिएको छ ।
२ वर्षमा भवन निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको भएपनि कोरोना महामारी लगायतका कारण ढिलाइ भएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij